काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोक नाथ प्याकुरेल कोरोना मुक्त भएका छन् ।
दुवै जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र दुवै जना घर फर्कने तयारीमा रहेको क्यानका एक सदस्यले खेलपाटीलाई जानकारी गराए ।
चितवनमा असोज ६ गते क्यानको बोर्ड बैठक सम्पन्न गरेर चन्द र प्याकुरेल काठमाडौं आएका थिए । स्वास्थ्यमा समस्या देखिएपनि दुवैले कोरोना परिक्षण गराएका थिए ।
सो क्रममा उनीहरुलाई कोरोनाको संक्रमण देखिएको हो । त्यसपछि दुवै एकान्तवासमा रहेका थिए ।
चन्द काठमाडौंको एक होटलमा बसेका थिए भने प्याकुरेल लाई स्वास्थ्यमा समस्या आएको कारण हस्पिटल भर्ना गर्नु परेको थियो । हस्पिटलमा प्याकुरेललाई करिब १५ दिन आईसीयुमा राखिएको थियो ।
संक्रमण भएको दुई हप्तापछि गरिएको परिक्षणमा चन्दको रिपोर्ट पुनः पोजेटिभ आएपनि त्यसको तीन दिनमा अर्को रिपोर्ट नेगेटिभ आएको हो ।
स्वास्थ्य अवस्था गम्भीर रहेको प्याकुरेलको भने दोस्रो रिपोर्टनै नेगेटिभ आएको स्रोतले बताएको छ ।
अध्यक्ष र सचिवको स्वास्थ्य अवस्थाको कारण देखाउँदै क्यानले असोज २८ गतेका लागि तोकेको साधारण सभा तत्काललाई स्थगित गरेको छ ।
क्यानले मंसिर १५ गतेभित्र क्यानको साधारण सभा सक्ने बताएको छ ।
अध्यक्ष चन्दका अनुसार दशैं लगत्तै साधारण सभा सम्पन्न गर्ने क्यानको तयारी छ ।