काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो ।
एन्फाले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणकाे अनुमति माग गरेको थियो ।
मैत्रीपूर्ण खेलका लागि अभ्यासको अनुमति माग गर्दै एन्फाले राखेपसँग निरन्तर आग्रह गर्दै आएको थियो ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिएको हुन् ।
नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो । बंगलादेश सहित दर्जन राष्ट्रले अभ्यास खेलका लागि नेपाललाई प्रस्ताव राखेका छन् ।
केही टिम नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्न तयार छन् । तर उपत्यकामा कोरोनाका कारण बिग्रदो अवस्थाले विदेशी टिमलाई नेपाल बोलाएर खेलाउन मिल्ने अवस्था छैन । सोही कारण एन्फाले बंगलादेश गएर मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको हो ।
कोरोना माहामारीका कारण गत चैतबाट घरेलु फुटबल ठप्प छ । संक्रमण फैलने डरले सरकारले लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण खेलकुद गतिविधि अघि बढ्न सकेका छैनन् ।
तर दक्षिण एसिया सहित विश्वभर फुटबल गतिविधि सुरु भईसकेका छन् । सोही कारण फुटबल गतिविधि सुरु गर्ने दबाब एन्फा सहित राखेपमाथि परेको छ ।
एन्फाले यसअघि प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो । एन्फाको प्रस्ताव राखेप, खेलकुद मन्त्रालय हुँदै कोभिड–१९ सकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा गएर अड्किएर बसेको छ । एन्फाको प्रस्ताव मन्त्रीपरिषदमा पुग्न सकेको छैन ।
मन्त्रालय स्रोतका अनुसार तिहार अघि सरकारले प्रशिक्षणको अनुमति दिन सक्ने अवस्था छैन ।