एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।
क्ले कोर्टका बादशाह मानिने नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा हराए ।
दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् ।
नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।
३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।
महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् ।
फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।
१९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।