एजेन्सी । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार भएको खेलमा रुसका करेन खाचनोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले करेनमाथि ६-४,६-३ र ६-३ को सेटमा जित निकाले ।
जोकोभिच १४ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।
एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अन्तिम आठमा पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन् ।
पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस सिट्सिपासले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।
स्टेफानोसले बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६-३, ७-६ (११-९) र ६-२ ले पराजित गरे । स्टेफानोसले अब एन्ड्री रूब्लेभसँग खेल्ने छन् ।
महिलातर्फ पेट्रा कोभिटोभाले अन्तिम आठमा स्थान बनाएकी छिन् ।
कोभिटोभाले चीनकी झाङ शुईलाई ६-२ र ६-४ ले पराजित गरिन् । कोभिटोभा आठ वर्षपछि फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।