एजेन्सी । अमेरिकन खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।
तीन पटकको च्याम्पियन सेरेनाले एकिलिस चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन् ।
दोस्रो चरणको खेल अघि ३९ वर्षीय सेरेनाले प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन् । सेरेनाले दोस्रो चरणमा बुल्गेरियाकी पिरोनकोभासँग खेल्ने तालिका रहेको थियो।
'मलाई लाग्छ ४ देखी ६ हप्ता म मैदान बाहिर रहनेछु,' नाम फिर्ता लिदै सेरेना भनिन्, 'मलाई हिड्न पनि गाह्रो भईरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले चाहानुहुन्न ।'
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले आफ्नै देशकी क्रिस्टी अह्नलाई ७-६ (७-२) र ६-० ले पराजित गरेर दोस्रो चरणमा पुगेकी थिइन् ।
सेरेनाले क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन २००२, २०१३ र २०१५ मा जितेकी थिइन् ।