एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई जितका लागि २ सय २४ रनको फराकिलो लक्ष्य दिएको छ ।
सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो ।
पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।
मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।
ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे ।
राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
राजस्थान पन्जाबलाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।
पन्जाब पनि दोस्रो जितको खोजीमा रहेको छ । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।