काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
सीप्यानले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष वर्गीकरणमा बिषयमा खेलाडीको अनुरोधका आधारमा निर्णय पुनर्विचार गर्न ध्यानकर्षण गराएको हो ।
सीप्यानले खेलाडीको वर्गीकरणमा थप प्रष्टता आवश्यक देखिएको भन्दै वर्गीकरणलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्न आवश्यक रहेको बताएको छ ।
उसले वर्गीकरणलाई तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र बैज्ञानिक बनाउनुपर्ने आवश्यकता औल्याएको हो ।
सीप्यानले क्रिकेटलाई व्यवसायीक बनाउन खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाउनुपर्ने र खेलाडीको उच्च मनोबल बनाउन आवश्यकता रहेको उल्लेख गर्दै विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तै, पुरुष तथा महिला क्रिकेट खेलाडीको जीवन तथा दुर्घटना बीमाका दायरालाई फराकिलो बनाउँदै सो कार्यको यथासक्य चाँडो कार्यान्व्यनको अपेक्षा सीप्यानले गरेको छ ।
असोज ६ गते भरतपुरको चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रिय सम्झौता दिएको थियो । तर वर्गीकरण बैज्ञानिक नभएको भन्दै क्यानको चौतर्फी विरोध भएको थियो ।
सोही बिषयमा सीप्यानले समेत निर्णय पुनर्विचार गर्न आग्रह गर्दै क्यान र राखेपमा ध्यानकर्षण पत्र बुझाएको हो ।
याे पनि, क्यानको खेल, खेलाडीमाथि झेल !