एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) राजस्थान रोयल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा राजस्थान आफ्नो दोस्रो र पन्जाब तेस्रो खेलका लागि मैदान उत्रने छन् । राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।
स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान पन्जाबलाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबविरुद्ध मैदान उत्रदा राजस्थान उक्त लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो ।
तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।
तेस्रो खेलमा भने पन्जाब जित निकाल्न चाहन्छ । जसका लागि बलियो राजस्थानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा पन्जाब बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत पन्जाबले बाजी मारेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा पन्जाबले १४ रनको जित निकालेको थियो । दोस्रो भेटमा पन्जाब १२ रनले विजयी भएको थियो ।
पन्जाबविरुद्ध राजस्थानले कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
यस्तै पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ ।