एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकत्ता र हैदराबाद आफ्नो दोस्रो खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा भने कोलकत्ता जितको खोजीमा हुनेछ ।
यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा दुबै टिम हैदराबाद बलियो देखिएको छ । गत सिजन दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।
गत संस्करणमा भएको पहिलो भेटमा कोलकत्ताले ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो भेटमा हैदराबादले ९ विकेटको जित निकालेको थियो ।
कोलकत्ताले हैदराबादविरुद्ध कार्तिकसँगै सुनिल नारिन, नितेश राना, आन्द्रे रसेल, इयान मोर्गन, पाट कुमिन्स, कुलदिप यादब जस्ता खेलाडी मैदान उतार्ने छन् ।
हैदराबादसँग भने वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् ।