एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोस्रो खेलमा आज (आईतबार) दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ । दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन् ।
सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ ।
किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन तर दिल्लीका स्पिनर युएईको मैदानमा भारी पर्ने आँकलन छ ।
दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शा सहित ऋषभ पन्त, शिखर धवन सहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् । पञ्जाबमा क्रिस गेल सहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन् ।
उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेकाे थियाे ।