एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम कोलकत्ता नाइट राइडर्सले भारतका भेट्रान स्पिनर प्रविन ताम्बेलाई कोचिङ स्टाफमा नियुक्त गरेको छ ।
कोलकत्ताका म्यानेजिङ डिरेक्टर भेन्की मसोरेले यस वर्षको आईपीएलमा ताम्पे टिमको कोचिङ स्टाफको रुपमा रहेको पुष्टि गरेका छन् ।
४८ वर्षे ताम्बे वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग क्रिकेट खेलेर युएई पुगेका छन् । लिगमा ताम्बेले ट्रिनबागो नाइट राइडर्सबाट खेल्दै उपाधि समेत जितेका थिए । क्यारिबियन प्रिमियर लिग खेल्ने ताम्बे पहिलो भारतीय खेलाडी हुन् ।
अघिल्लो संस्करणको आईपीएलमा ताम्बे सर्वाधिक उमेरका खेलाडी रहेका थिए । उनलाई अक्सनमा कलकत्ताले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
तर, अन्तराष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास घोषणा नगरी टी-१० लिग खेलेको कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ताम्बेलाई आईपीएल खेल्न प्रतिबन्ध लगाएको थियो ।
अन्तराष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास नलिएका भारतका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमति बिना खेल्न पाउँदैनन् ।
ताम्बेले यस अघि सन् २०१३ देखि २०१६ सम्म ३३ आईपीएलका खेल खेलेका छन् । उनले तीन फरक टिम राजेस्थान रोयल्स, गुजरात लायन्स र सन्राइजर्स हैदराबादबाट आईपीएल खेलका छन् ।
ताम्बेले ३३ खेलमा २८ विकेट लिन सफल छन् ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।
उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ ।