एजेन्सी । विश्व नम्बर दुई डोमिनिक थिएम यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई पराजित गर्दै थिएम उपाधि नजिक पुगेका हुन् ।
अष्ट्रियन थिएमले मेडभेडेभमाथि ६-२, ७-६(९-७) र ७-६ (७-५) को सेटमा पराजित गरे ।
यससँगै थिएम यूएस ओपनको फाइनलमा पुग्ने अष्ट्रियाका पहिलो खेलाडी बनेका छन् ।
अब थिएमले फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग खेल्ने छन् ।
पहिलो सेमिफाइनलमा एलेक्जेन्डरले स्पेनका पाब्लो कारेनो बुस्टालाई हराएर फाइनल पुगिसकेका छन् ।
रोमान्चक बनेको खेलमा एलेक्जेन्डरले पाब्लोमाथि सुरुवाती दुई सेट गुमाएर पनि जित निकालेका थिए ।
पाब्लोविरुद्ध एलेक्जेन्डरले सुरुवाती सेट ३-६ र २-६ ले गुमाएका थिए । तर, पुनरागमन गर्दै एलेक्जेन्डरले त्यसपछिका सेट ६-३,६-४ र ६-३ ले जित्दै फाइनल यात्रा तय गरे ।
एलेक्जेन्डर पहिलोपटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् ।