एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय आज (शुक्रबार) हुँदैछ ।
म्यानचेस्टरमा हुने पहिलो एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै तीन खेलको सिरिजमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
दुबै टिमका कप्तानले सिरिज जित्ने लक्ष्य रहेको बताईसकेका छन् । त्यसैले प्रतिस्पर्धा रोमान्चक हुने अनुमान गरिएको छ ।
टी-ट्वान्टी सिरिज जितेको इंग्ल्यान्ड एकदिवसीय सिरिज पनि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।
'अष्ट्रेलिया विश्वकै उत्कृष्ट टिम हो । यो समय खासै फरक छैन,' इंग्ल्यान्डका कप्तान इयान मोर्गनले भनेका छन्, 'सधै कठिन प्रतिस्पर्धा भएको छ । यो हुनु पर्छ ।'
सन् २०१९ को विश्वकप पछि दुबै टिम पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपको दुई भेटमा दुबैले एक एक जित निकालेका थिए ।
समूह चरणमा अष्ट्रेलियाले ६४ रनको जित निकालेको थियो । तर, सेमिफाइनलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराएको थियो ।
म्यानचेस्टरमा अष्ट्रेलिया टी-ट्वान्टी सिरिज र विश्वकपको सेमिफाइनलमा व्यहोरेको हारको बद्ला लिन चाहन्छ ।
तर, विश्व वरीयताको शीर्ष स्थानमा रहेका टिमसँग जित निकाल्न अष्ट्रेलियालाई सहज छैन ।
'तपाई इंग्ल्यान्डसँग खेल्नु हुन्छ भने ९० प्रतिशत खेल्न सक्नु हुन्न,' अष्ट्रेलियाका कप्तान आरोन फिन्च भन्छन्, 'तपाईले उनीहरुलाई हराउँन १०० % ब्याटिङ गर्नु पर्छ । चुनौतीका लागि उत्साहित छौँ ।'
तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।