काठमाडौं । अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी (ग्लोवल एडभेन्चर एण्ड माउन्टेनरिङ कन्फरेन्स एण्ड एक्स्पो २०१७) आगामी मार्च ३१ देखि हुने भएको छ ।
‘हाउस अफ राजकर्णिकार’ को आयोजनामा हुन लागेको सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ । नेपालमै पहिलोपटक पर्वतीय तथा शाहसिक पर्यटनका अन्तरराष्ट्रिय आयामलाई समेट्ने गरी सम्मेलन आयोजना गर्न लागिएको हाउस अफ राजकर्णिकारका प्रवन्ध निर्देशक विरेन्द्र राजकर्णीकारले बताए ।
उनका अनुसार पर्वतीय तथा शाहसिक पर्यटनका लागि आवश्यक वस्तु, सेवा, सूचना लगायतको विनिमयका लागि सम्मेलन महत्वपूर्ण हुनेछ । शाहसिक खेल, शाहसिक पर्यटन र वातावरणीय परिपेक्ष्यमा शाहसिक गतिविधि गरी तीन समानान्तर आयाममा उक्त सम्मेलन केन्द्रीत हुने आयोजकले बताएको छ । सम्मेलनमा बाह्य तथा शाहसिक खेलप्रेमी, एथलेट्स, शाहसिक पर्यटन सञ्चालक, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनको आकर्षणमा शाहसिक तथा पर्वतीय प्रदर्शनीमा शाहसिक पर्यटन सेवा, शाहसिक खेलका उपकरण, माउन्टेन बाइक, प्यारासुट, प्यारा ग्लाइडर, स्काइज, स्केटबोर्डलगायत वस्तुहरू रहनेछन् । त्यस्तै सर्फबोर्ड, माउन्टेनियरिङ हार्निसेस,रुकस्याक, क्याम्प किचन प्रोडक्ट लगायतका वस्तु पनि प्रदर्शनीमा राखिनेछ ।