एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाज पराजित भएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।
जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।
सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, सन्दीप विकेट लिन असफल भए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।
यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।
जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिए । खारी पेरीको नाममा २ विकेट रह्यो ।
अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।
गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।