एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी आज (मंगलबार) हुँदैछ ।
साउथह्याम्पटनमा हुने इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
द रोस बल मैदानमा इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रने छ ।
इंग्ल्यान्डले तीन खेलको सिरिज २-० ले जितिसकेको छ । त्यसैले अन्तिम खेल जित्दै इंग्ल्यान्ड सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ ।
तर, अष्ट्रेलिया भने अन्तिम खेल जित्दै सिरिजमा सान्त्वना जित निकाल्न चाहन्छ । यस्तै अष्ट्रेलिया सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ ।
यस अघि इंग्ल्यान्डले पहिलो खेलमा २ रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा ६ विकेटको सहज जित निकालेको थियो ।
तर, अन्तिम खेलमा इंग्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले खेल्ने छैनन् । उनी व्यक्तिगत कारण टिम बाहिर रहेका छन् ।
दोस्रो टी-ट्वान्टीमा बट्लरले अविजित ७७ रन बनाएर इंग्ल्यान्डलाई सिरिज दिलाएका थिए । उनले पहिलो टी-ट्वान्टीमा ४४ रन बनाएका थिए ।
अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजपछि इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।