एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले फाइनल प्रवेशका लागि आज (मंगलबार) राति ट्रिन्बागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने लागेको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल मंगलबार नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।
लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् ।
निकै राम्रो इकोनमिमा बलिङ गर्दै आएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् ।
सन्दीप जमैकाका लागि सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा रहेका छन् ।