काठमाडौं । नेपाल फेन्सिङ संघले खेलाडी तथा प्रशिक्षकहरुको कोरोना बिमा गर्ने भएको छ ।
संघले सोमबार एक विज्ञप्ति निकाल्दै खेलाडी, प्रशिक्षकसहित निर्णायक तथा संघका पदाधिकारीहरुको कोरोना बिमा गर्ने जनाएको छ ।
विश्व फेन्सिङ दिवसको अवसरमा अध्यक्ष सुनिल कुमार श्रेष्ठको आथित्यमा बसेको भर्चुअल बैठकले खेलाडी, प्रशिक्षक, निर्णायक र पदाधिकारीको बिमा गर्ने निर्णय गरेको हो ।
यस्तै संघले भर्चुअल कार्यक्रमको आयोजना गरेर विश्व फेन्सिङ दिवस मनाएको छ । संघले सोमबार भिडियो कन्फरेन्सको माध्यमबाट विश्व फेन्सिङ दिवस मनाएको हो ।
हरेक वर्ष सेप्टेम्बरको दोस्रो हप्ताको शनिबार अन्तर्राष्ट्रिय फेन्सिङ महासंघको सदस्य राष्ट्रहरुले फेन्सिङ दिवस मनाउने गर्छन ।
कोरोना भाईरसको महामारीको कारण संघले भर्चुअल कार्यक्रमबाट दिवस मनाएको जनाएको छ ।
भर्चुअल कार्यक्रममा संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक र खेल पत्रकारको सहभागीता रहेको थियो ।
कार्यक्रममा संघका महासचिव श्री सुजन लाल श्रेष्ठले विश्व फेन्सिङ दिवसको बारेमा जानकारी गराएका थिए ।
यस्तै खेलकुद पत्रकार राम सुदन तिमल्सिना र राजु घिसिङले संघले छोटो अवधिमा नै प्राप्त गरेको सफलताको चर्चा गर्दै आगामी दिनहरुमा संघले फेन्सिङको विकास र विस्तारका लागि शुभकामना दिएका थिए ।