एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)को लिग चरणको अन्तिम खेलमा पराजित बनेको छ ।
आईतबार लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित बनेको हो ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
ओपनर ग्लेन फिलिप्सले ४९ रन बनाएको इनिङ्समा जेमेन ब्ल्याकवुड र निकोलास किटोनले समान २५ रन बनाए । चाडविक वाल्टनले १० रन जोड्न सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए । केसरिक विलियम्सले एक विकेट झारे ।
यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
नजीबुल्लाह जादरानले ३५ रन बनाएको इनिङ्समा रहकेस कार्नवाल र रोस्टोन चेसले समान ३२ रन बनाएका थिए । मार्क दयालले १३ रन बनाए ।
जमैकाका मुजिव उर रेहमानले २ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट झारे । सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित २० रन खर्चिएर १ विकेट लिएका हुन् ।
सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिईसकेका छन् ।
जमैका यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ । जमैकाले अब पहिलो सेमिफाइनलमा भोलि (मंगलबार) ट्रिबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ ।