एजेन्सी । शीर्ष वरियताका नोभाक जोकोभिच यूएस ओपन टेनिसमा 'अयोग्य' घोषित भएका छन् ।
दुर्भाग्यवस उनले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि जाेकाेभिच अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।
३३ बर्षका जोकोभिचले सर्भिस गुमाएपछि रिस पोख्ने क्रममा बललाई प्रहार गरेका थिए । सो बलले लाइन जजलाई गएर लागेको थियो । खेलमा जोकोभिच ६–५ ले अघि थिए ।
सर्वियाका विश्व नम्बर एक खेलाडीले गोजीबाट बल निकालेर प्रहार गरेका थिए । सो बलले उनको पछाडी रहेकी लाइन जर्जलाई गएर लागेको थियो ।
केही समयको छलफलपछि उनलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरिएको थियो ।
‘ग्रान्डस्लाको नियम अनुसार, बुझेर बललाई खतरनाक तरिकाले हान्ने वा कोर्टभित्र लापरवाही तरिकाले खेल्ने वा लापरवाही तरिकाले बललाई हान्ने कारणले प्रतियोगिताको रेफ्रीले नोभाक जोकोभिचलाई सन् २०२० यूएस ओपन टेनिसबाट अयोग्य घोषित गरेका छन् ।’ यूएस टेबल टेनिस संघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
‘प्रतियोगितामा चुकेपछि जोकोभिचले यूएस ओपनमा पाएका सबै अंक गुमाउनेछन् । उसले प्राप्त गर्ने पुरस्कार राशीमा समेत जरिवाना स्वरुप कटौती गरिनेछ ।’ बिज्ञप्तीमा भनिएको छ ।
उनलाई यूएस ओपन टेनिसको बलियो दाबेदार मानिएको थियो । कोरोनाका कारण पहिलो पटक यूएस ओपन बन्द कोर्टमा खेलाईएको थियो ।
जोकोभिच करियरको १८ औं ग्रान्डस्लाम जित्दै राफेल नाडाल र रोजर फेडेररको नजिक जान चाहन्थे । दुवै जना यूएस ओपन टेनिसमा सहभागी छैनन् ।