एजेन्सी । सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (सीपीएल)मा बार्बाडोस ट्राइडेण्ट्ससंग ७ विकेटले पराजित भएको छ ।
सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै १ विकेट लिएपनि जमैका बार्बाडोससंग ७ विकेटले पराजित बनेको हो ।
जमैकाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य बार्बाडोसले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बार्बाडोसको जितमा कप्तान जसन होल्डरले ६९ रन बनाए । उच्च योगफलतर्फ अघि बढेका होल्डरलाई सन्दीपले बोल्ड गरेका थिए ।
टोलीका जोनाथन कार्टर ४२ र मिचेल स्याटनर ३५ रनमा अविजित रहे ।
सन्दीपले अन्य बलरको तुलनामा किफायती बलिङ प्रर्दशन गरे । उनले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाउँदै जमैकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय ईनिङ्स खेल्दै जमैकालाई उच्च योगतर्फ अघि बढाएका थिए । तर अन्य ब्याट्सम्यान चल्न नसकेपछि जमैकाले मध्यम स्कोर मात्र बनाउन सक्यो । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।
अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ । यसअघिनै सेमिफाईनलमा पुगेको जमैका समूह चरणमा चौथो स्थान भन्दा माथि उठ्न नसक्ने देखिएको छ । जमैका ९ खेलबाट ७ अंक सहित चौथो स्थानमा रहेको छ ।
जमैकाले अब सेमिफाइनलमा शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
सन्दीपले प्रतियोगितामा राम्रो बलिङ प्रर्दशन गर्दै आएका छन् । उनले ८ इनिङ्समा ११ विकेट लिन सफल भएका छन् ।