एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) नवौं खेल खेल्दैछ ।
ट्रिनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले नवौं खेलमा बार्बाडोस ट्राइडेण्ट्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
जमैका र बार्बाडोसबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ ।
ब्रायन लारा स्टेडियममा बार्बाडोसविरुद्ध मैदान उत्रदै गर्दा जमैका चौंथो जितको खोजीमा हुनेछ । बार्बाडोस भने तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकासामु अघिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर प्राप्त हुनेछ ।
जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । बार्बाडोस ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।
जमैकालाई जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने मौका छ । बार्बाडोसको लागि यो खेल प्रतिष्ठाको लडाँई मात्र हो ।
सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ प्रर्दशन गर्दै आएका छन् । सन्दीप ७ इनिङमा १० विकेट लिन सफल भएका छन् ।
सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा छन् । यस्तै उनी आफ्नो टिमबाट सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।