एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
न्युयोर्कमा भएको तेस्रो चरणमा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अन्तिम १६ मा पुगेका हुन् ।
३३ वर्षीय सर्बियन जोकोभिचले लेनार्डविरुद्ध ६-३,६-३र ६-१ को सेटमा जित निकाले ।
१८ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले अन्तिम १६ मा स्पेनिस पाब्लो कारेनो बुस्टासँग खेल्ने छन् ।
यस अघि दोस्रो चरणमा जोकोभिचले बेलायती खेलाडी केली एडमण्डलाई पराजित गरेका थिए ।
अर्को खेलमा जर्मनीका एलेक्जेन्डर जेभरेभले एड्रियन मान्नारिनोलाई ६-७ (४-७), ६-४,६-२ र ६-२ को सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
महिलातर्फ चौथो वरीयताकी नाओमी ओसाकाले युक्रेनी खेलाडी मार्टा कोस्त्युकमाथि ६-३, ६-७ (४-७) र ६-२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेकी छिन् ।
यस्तै पाँचौं वरीयताकी पेट्रा कोभिटोभा र १७ औं वरीयताकी एन्जलिक केर्बेरले समेत अन्तिम १६ मा स्थान बनाएकी छिन् ।