एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम चेन्नई सुपर किङ्सका खेलाडी र स्टाफ कोरोना भाईरसबाट मुक्त भएका छन् ।
चेन्नईका सीईओ कासी विश्वनाथले टिमका खेलाडी र स्टाफ कोरोनाबाट मुक्त भएको बताएका छन् ।
गत साता आईपीएलका लागि दुबई पुगेको चेन्नईका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
कोरोना देखिएपछि खेलाडी र स्टाफलाई क्वारेन्टिनमा राखिएको थियो ।
तर, कोरोना देखिएको एक सातापछि उनीहरु कोरोना मुक्त भएका हुन् ।
सीईओ विश्वनाथले पछिल्लो पटक गरिएको दुई पटकको रिपोर्ट नेगेटिभ आएको बताए ।
'पहिलो टेस्ट नेगेटिभ आयो । त्यसपछि अर्को परिक्षण पनि,' विश्वनाथले क्रिकवजसँग भनेका छन् ।
खेलाडी र स्टाफ कोरोना मुक्त भएसँगै टिमले प्रशिक्षण थाल्ने तयारी समेत गरेको छ ।
चेन्नईका सीईओ विश्वनाथले सेप्टेम्बर ४ बाट टिमले प्रशिक्षण थाल्ने समेत बताए ।
आईपीएलका लागि चेन्नईको टिम अगस्ट २१ मा दुबई पुगेको थियो । र, अगस्ट २८ बाट तयारी थालेको थियो ।
आईपीएलको यस संस्करण युएईमा हुँदैछ । १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।