काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका खेलाडीले झण्डै एक बर्षदेखि रोकिएको तलब केही दिनमा पाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट खेलाडीको तलब रिलिज गर्ने क्रम अन्तिम चरणमा पुगेको बताउँदै क्यानले खेलाडीले केही दिनमा तलब पाउने जानकारी दिएको हो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले तलबको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै २–४ दिनमै तलब रकम प्राप्त हुने जानकारी दिएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीले सन् २०१९ देखि तलब पाएका छैनन् । गत बर्ष भएको निर्वाचन लगत्तै क्यानको नयाँ कार्यसमितिले खेलाडीको तलबको पहल गर्दै आएको थियो ।
सोही अनुसार आईसीसीले माग गरेका सबै कागजात क्यानले पठाएको थियो । अन्तिम पटक क्यानले खेलाडीको हस्ताक्षर सहितको सूचि आईसीसीमा पठाएको थियो ।
क्यानका सचिव प्याकुरेलले खेलाडीको तलब अझै नआएको जानकारी दिँदै केही दिनमै रकम प्राप्त हुने खेलपाटीलाई बताए ।
’खेलाडीको तलब आइपुगेको छैन ।’ क्यानका सचिव प्याकुरेलले खेलपाटीसंग भने, ‘प्रस्तावमा सहमती भएर तलब रिलिज हुने क्रममा छ । अब दुई, चार दिन लाग्छ । रिलिज रकम क्यानले प्राप्त गरे लगत्तै खेलाडीको खातामा पठाउन सुरु गर्ने छौं ।’
खेलाडीसंगै कीर्तिपुर मैदानमा कार्यरत कर्मचारी र भिडियो एनालिस्टले समेत तलब पाउन बाँकी रहेको छ ।
क्यानले सम्झौता भन्दा खेलाडीले मासिक १० हजार बढी तलब प्राप्त गर्ने जानकारी दिएको छ । आईसीसीले खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गर्दै तलब निर्धारण गरेको थियो ।
जस अनुसार ए श्रेणीका खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका खेलाडीले २५ हजार र सी श्रेणीका खेलाडीले मासिक १५ हजार तलब पाउने उल्लेख छ ।