एजेन्सी । तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले घरेलु टोली इङ्ल्याण्डमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।
जितसंगै पाकिस्तानले तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरी गर्न सफल भएको छ ।
१ सय ९१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो ।
मोइन अलीले ६१ रन बनाएको इनिङ्समा टम बेन्टनले ४६, साम बिलिङ्सले २६, लुइस ग्रेगरीले १२ तथा इयान मोर्गानले १९ रन मात्र जोड्न सके । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पाकिस्तानका शाहीन शाह अफरीदी र वाहब रियाजले समान २–२ विकेट लिए । इमाद वासिम र हरिस रौफले १–१ विकेट हात पारे ।
यसअघि, म्यान्चेष्टरमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
मोहमद हाजिफले अविजित ८६ रन बनाएको इनिङ्समा हैदर अलीले ५४ रनको अर्धशतकीय पाली खेले । डेब्यु खेलमा हैदरले पाकिस्तानका लागि अर्धशतकीय पाली खेल्न सफल भएका हुन् । कप्तान बाबर आजमले २१, फखर जमान १, सादब खान १५ र इमाद वासिम ६ रनमा अविजित रहे ।
इङ्ल्याण्डका क्रिस जोर्डनले २ तथा मोइन अली र टोम कुरानले १–१ विकेट लिए ।
पाकिस्तानको जितसंगै तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल बर्षाले प्रभावित बनेको थियो भने दोस्रो खेल इङ्ल्याण्डले जितेको थियो ।