काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा व्यक्तिगत कीर्तिमान बनाएका छन् ।
लगातार तेस्रो पटक प्रतियोगिता खेलीरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन् ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी प्रतियोगितामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
उनले पछिल्लो दुई संस्करणमा भन्दा यस सिजन सर्वाधिक विकेट लिन सफल छन् । जारी प्रतियोगितामा सन्दीपले ६ खेल खेल्दै ९ विकेट हात पारेका छन् । जुन अघिल्लो संस्करणको भन्दा धेरै हो ।
सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सिजनले ५ खेलमा ७ विकेट हात पारेका थिए ।
उक्त सिजन १७ ओभर बलिङ गरेका सन्दीपले १ मेडेन सहित ६ दशमलब २३ को इकोनमी रहेको थियो ।
यस्तै सन् २०१९ को संस्करणमा बार्बड्स ट्राइडेण्ट्सबाट खेलेका सन्दीपले आफ्नो आक्रमणमा सुधार गर्दै ८ विकेट लिन सफल भएका थिए । ६ खेल खेलका सन्दीपले १९ ओभर ५ बल बलिङ गर्दै ६ दशमलब ५० को इकोनमीमा बलिङ गरेका थिए ।
सन्दीपले सन् २०१९ को संस्करणमा पुरै प्रतियोगिता खेल्न पाएनन् । नेपालको अन्तराष्ट्रिय खेलको कारण सन्दीपले बिचैमा प्रतियोगिता छाडेका थिए ।
यस सिजन सन्दीप थप लयमा देखिएका छन् । उनले ६ खेलमा निकै राम्रो इकोनोमीमा ९ विकेट लिन सफल छन् । २४ ओभर बलिङ गरेका सन्दीपको जम्म्मा ४ दशमलब ८३ को इकोनमी रहेको छ ।
प्रतियोगितामा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सातौँ स्थानमा रहेका छन् । यस्तै उनी आफ्नो टिमको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो । सन्दीपले सीपीएलमा पाएको यो मुल्य अहिले सम्मकै सर्वाधिक हो ।
यसअघि सन्दीप पहिलो पटक ५ हजार अमेरिकी डलर तथा दोस्रो पटक ७० हजार अमेरिकी डलरमा अनुबन्धन भएका थिए ।