एजेन्सी । कोराना भाईरसको महामारीको कारण विम्बल्डन टेनिस रद्ध भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने भएका छन् ।
अल ईङ्ल्याण्ड क्लबले शुक्रबार कोरोनाले प्रतियोगिता रद्ध भएपनि पुरस्कार राशीको रुपमा १ दशमलव २५ करोड डलर वितरण गरिने घोषणा गरेको हो ।
बिमा कम्पनीसंग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने घोषणा गरेको हो ।
विम्बल्डनमा २ सय २४ खेलाडीले छनोटमा भाग लिएका थिए । छनोटमा भाग लिने प्रत्येक खेलाडीले जनही १५ हजार ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।
अल ईङ्ल्याण्ड क्लबका प्रमुख कार्यकारी अधिकृत रिचर्ड लुईसले भने, 'च्याम्पियनसिप रद्ध हुने बित्तिकै हामीले सबै ध्यान यसमा केन्द्रित गरेका थियौ । जसले विम्बल्डन आयोजनामा सहयोग गरेका थिए ।'
योसंगै जोडी स्पर्धामा सहभागी १ सय २० खेलाडीले जनही ७ हजार ८ सय, ब्हील चेयर स्पर्धामा भागलिने १६ खेलाडीले ७ हजार ५ सय र चार खेलाडीको ब्हीलचेयरमा भाग लिने खेलाडीले जनही ६ हजार २ सय डलर पाउने भएका छन् ।
क्लबको यस निर्णयलाई लिएर धेरैले प्रशंसा गरेका छन् । टेनिसका प्रशंसकले यसलाई ऐतिहासिक निर्णय बताएका छन् । कोरोनाकै प्रभावका कारण क्रिकेट अष्ट्रेलियाले आफ्नो प्रशिक्षण र अन्य विभागका कर्मचारीको तलब कटौती गरेको थियो ।
विश्वभर कोरोनाले बित्तिय संकट सिर्जना गरेको अवस्थामा विम्बल्डनले सिजन रद्ध भएपनि खेलाडीलाई पुरस्कार बाँड्ने निर्णय गरेको हो ।