एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिकले प्रदर्शनी प्रतियोगिता एड्रिया टुरको पहिलो खेलमा जित निकालेका छन् ।
सर्बियाको बेलग्रेडमा शनिबार आयोजित प्रतियोगिताको पहिलो लेग अन्तर्गतको खेलमा जोकोभिकले भिक्टर ट्रोइकीलाई ४-१ र ४-१ को सेटमा पराजित गरेका हुन् ।
तर, सर्बियन स्टार जोकोभिक दोस्रो खेलमा भने पराजित भए । ३३ वर्षीय जोकोभिकलाई फिलिप क्राजिनोभिकले २-४, ४-२ र ४-१ को सेटमा पराजित गरे ।
कोरोना भाईरसको महामारीपछि पहिलो पटक यस प्रदर्शनी प्रतियोगिता आयोजना भएको हो । आइतबार समूहतर्फको खेल हुनेछ ।
जोकोभिकले करिब ४ हजार दर्शक सामु यस प्रतियोगिता आयोजना गरेका हुन् । लामो समय कोर्ट बाहिर रहेका खेलाडीको फिटनेसलाई फिर्ता ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तर्गत दोस्रो लेग क्रोएसियाको कोस्टल रिसोर्टमा जुन २०-२१ सम्म हुनेछ । मोन्टेनग्रोमा तय भएको तेस्रो लेग भने रद्द भएको छ । यस्तै फाइनल चरणको खेल बोन्सियाको बान्जा लुकामा जुलाई ३ र ४ मा हुनेछ ।
कोरोनाको कारण गत मार्चबाट टेनिस प्रतियोगिता स्थगित गरिएको छ । एटिपी टुर जुलाई ३१ सम्म स्थगित गरिएको छ ।