काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत म्याराथनतर्फ नेपालका दुई खेलाडीले दौड पुरा गर सकेनन् ।
शनिबार भएको म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले दौड पुरा गर्न नसकेका हुन् । दुवैले ४० किमिको दौडपछि खेल त्यागेका थिए । इन्डोनेसियाको गर्मीको कारण खेलाडीलाई दौड पुरा गर्न गार्हो भएको एक सदस्यले जानकारी गराए ।
म्याराथनमा जापानका इनोई हिराटोले स्वर्ण जिते । सन् १९८६ पछि म्याराथनमा स्वर्ण जित्ने उनी पहिलो जापानिज खेलाडी बने । म्याराथनमा बहराइनका इल्साहन एलाबस्सीले रजत र चीनका डुओ बुझीले कास्य जिते ।
यो स्पर्धामा २१ खेलाडी रहेका थिए जसमा १५ खेलाडीले मात्र दौड पुरा गरे ।
इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । अब पुरुषतर्फ याम साजन सुनारले १०० मिटर दौड, सोम बहादुर कुमालले ४०० र ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सरस्वती भट्टराईले ८०० र १५०० मिटर दौड र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।