काठमाडौं । 'साम्बा' २३ बर्षमा लागेकी छिन् ।
साम्बा अर्थात सावित्रा भण्डारी, राष्ट्रिय महिला फुटबल टिमकी सर्वाधिक गोलकर्ता ।
गत बर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पूर्व कप्तान अनु लामाको नाममा रहेको सर्वाधिक ३८ गोलको कीर्तिमान साम्बाले भंग गरेकी थिईन् ।
उनै साम्बा मंगलबारबाट उमेरले २३ बर्ष लागेकी छिन् ।
पश्चिम लमजुङमा जन्मिएकी साम्बा हाल विभागीय क्लब एपीएफमा आबद्ध छिन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण साम्बा विभागीय ड्युटीमा खटिएकी छिन् ।
‘आजको दिनबाट २३ बर्षमा प्रवेश गरे ।’ जन्मदिनको अवसरमा खेलपाटीसंगको सम्पर्कमा साम्बाले भनिन् ।
उनी घरेलु फुटबलमात्र नभएर दक्षिण एसियाकै सर्वोत्कृष्ट फरवार्ड हुन् ।
सन् २०१४ पाकिस्तानमा भएको साफमा साम्बाले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिईन् । त्यसपछि साम्बाले फुटबल करियरमा पछाडी फर्केर हेर्न परेको छैन ।
उनले अहिलेसम्म परिवारसँग बसेर जन्मदिन मनाउन पाएकी छैनिन् ।
‘सानै उमेरमा त्यस्तो रमाईलो हुँदैन थियो । पछिल्लो समय जन्मदिन साथीहरुसँग बसेर मनाउँदै आएको छु । तर परिवारसँग मनाउन पाएको छैन ।’ उनले भनिन् ।
समकालिन महिला फुटबलकी नम्बर एक खेलाडी साम्बाले छिमेकी देश भारतमा समेत आफ्नो प्रभाव छाडेकी छिन् । उनैको प्रर्दशनबाट प्रेरित क्लबले भारतको महिला लिग जितेका छन् ।
आईलिगमा डेब्यु गरेको बर्ष सेथु क्लबबाट लिग उपाधि जितेकी साम्बाले यस सिजन गोकुलम केरेराबाट उपाधि हात पारिन् ।
महिला खेलाडीले विदेशमा प्राप्त गरेको योनै उच्च श्रेणीको सफलता हो । सन् २०१९ मा ७ खेलबाट १५ गोल गर्दै सावित्राले सेथुलाई च्याम्पियन बनाएकी थिईन् । यस्तै २०२० सिजनमा समेत सावित्राले ७ खेलमा १९ गोल गर्दै गोकुलमलाई उपाधि दिलाईन् ।
व्यवसायीक फुटबल करियरमा स्वदेशी तथा विदेशी क्लबबाट सफलता हात पारेपनि साम्बाले राष्ट्रिय टिमबाट कुनै सफलता हासिल गरेकी छैनन् ।
साम्बाकै भनाई मान्ने हो भने दक्षिण एसियामा नेपालको बाधकनै भारत हो ।
लगातार भारतसँग पराजित हुँदै आएको अनुभव बटुलेकी साम्बा आफ्नो सुखद् क्षणनै भारतलाई जित्दा हुने बताउँछिन् ।
‘फुटबलको यात्रामा भारतसँग निकै पटक पराजित भईयो । सबैभन्दा दुखद विराटनगरमा भएको फाइनलमा पराजित हुँदा लाग्छ । यस्तै सुखद् क्षण हिरो गोल्डकपमा भारतलाईनै पराजित गर्दा लागेको थियो ।’ उनले भनिन् ।
हिरो गोल्डकपमा भारतविरुद्ध साम्बाले नेपालको तर्फबाट दुई गोल गरेकी थिईन् । ७५ सालमा भएको हिरो गोल्डकपमा नेपालले समूह चरणमा भारतलाई २–१ गेल अन्तरले पराजित गरेको थियो । यद्यपि उपाधि भिडन्तमा नेपाल फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।
लगत्तै एक महिनापछि घरेलु मैदानमा भएको साफ फुटबलमा नेपाल फाइनलमा भारतसँग पराजित हुन पुग्यो । विराटनगरमा भएको प्रतियोगिताको फाईनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । सो प्रतियोगितामा ४ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ता चुनिएकी थिईन् ।
याे पनि, 'साम्बा' अर्थात् गोल मेसिन