काठमाडौं । काठमाडौं म्याराथनको १२ औं संस्करण आगामी असोज तेस्रो साता आयोजना हुने भएको छ । आयोजक प्रोस्पोर्टस र इभेन्ट सोलुसन प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज २० गते आयोजना हुने जानकारी गराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटिका निलेन्द्रराज श्रेष्ठले जानकारी गराए । श्रेष्ठको अनुसार मुख्य स्पर्धामा म्याराथन र हाफ म्याराथन रहने छ ।
त्यस्तै ५ किमिको खुल्ला दौड, ५ किमीकै भेट्रान दौड, ५ किमीकै स्कुल दौड र ३ किमीको ह्वीलचेयर दौड हुनेछ । त्यस्तै कर्पोरेट रिले म्याराथन समेत हुने आयोजकले जनाएको छ । सबै स्पर्धामा महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका बिजेताले १ लाख प्राप्त गर्ने छन् । त्यस्तै दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउनेछन् । हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धामा बिजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाउने छन् ।
५ किमीको खुल्ला दौडतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमश १५, १० र ५ हजार पाउन छन् । यस्तै भेट्रान, स्कुल र ह्वीलचेयर दौडतर्फ बिजेता, उपविजेता र तेस्रोले क्रमश १०,५ र २ हजार पाउनेछन् । कर्पोरेटतर्फका बिजेताले २५, उपविजेताले १० र तेस्रोले ५ हजार प्राप्त गर्नेछ ।
त्यस्तै राष्ट्रिय किर्तिमान बनाउने खेलाडीलाई पनि पुरस्कृत गरिने छ । राष्ट्रिय किर्तिमान बनाउने खेलाडीले १ लाख पाउने आयोजकले जनाएको छ ।
काठमाडौं म्याराथनको दौरान आयोजकले स्पोर्ट्स एस्क्पो पनि आयोजना गर्ने जनाएको छ । स्पोर्ट्स एस्क्पोको दौरान विविध खेलको प्रदर्शन, सेमिनार तथा वर्कसपहरु हुनेछ ।