काठमाडौं । नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ 'ए' टिमले चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टिङ एण्ड क्यानोईङ संघको आयोजना तथा सिन्धु पर्यटन ब्यवसायी संघको सहयोगमा सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब 'ए' ले उपाधि जितेको हो ।
तीन दिन चलेको प्रतियोगितामा क्याप्टेन सुरज गुरुङसहित सविन गुरुङ, दिपेश गुरुङ, शक्ति गुरुङ र रविल मियासम्मिलित नेपाल र्याफ्ट एण्ड कायक क्लब 'ए' टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याई कुल ९५१ अंकका साथ प्रथम स्थान हात पारेको हो ।
प्रतियोगितामा काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहिलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंंकका साथ दोश्रो भयो । कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेश्रो भयो ।
टिममा ५ खेलाडी रहने र्याफ्टिङ खेलमा उपाधि विजेता टोलीले ४० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजार प्राप्त गरेका छन् ।
यस्तै संघद्वारा आयोजना गरिएको आठौं राष्टिय कायक स्लालम प्रतियोगीतामा चितवनका मोहन रानाले ११४.१० अंकका साथ प्रथम भए । रानाले नगद १५ हजार प्राप्त गरे । दोश्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले ११९.६७ अंक प्राप्त गरे । उनले नगद १० हजार प्राप्त गरे । तेश्रो स्थानमा धादिडका रन्जन कडेल रहे । उनले १२१.५२ अंक प्राप्त गरे । कँडेलले नगद ५ हजार प्राप्त गरे ।
आठौं राष्ट्रिय कायक स्लालम प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।