काठमाडौं । एसियाली राष्ट्रको खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संस्करण आज (शनिबार) बाट इन्डोनेसिया सुरु हुँदैछ ।
इन्डोनेसियाको जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा विशेष कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन नेपाली समय अनुसार ६ः१५ बजेपछि सुरु हुनेछ । इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।
उद्घाटन समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर विकले गर्नेछन् । यस्तै नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट लगायताका पदाधिकारी हुनेछन्।
उद्घाटनको अवसरमा नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमल बहादुर अधिकारीले गर्नेछन् ।
आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्सको इतिहासमा पहिलो पटक दुई सहरमा एसियन गेम्स आयोजना हुँदैछ । यो पटक जकार्ता र पालेमबाङमा खेलहरु संचालन हुनेछ ।
यो एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् । र, ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
यप पटक इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ । थाइल्यान्ड ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारत ५ सय ७२ खेलाडी सहभागी छन् ।
नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेमबाङमा हुनेछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ ।
एसियन गेम्समा नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ । सन् १९८६ को सियोल एसियन गेम्समा नेपालले पहिलो पटक पदक जितेको थियो ।