टीएस ठकुरी ।
के सोचें मैले, के भयो अहिले
कसम हाम्रो बिलायो कहाँ,
अल्झाइराख, नलैजाउ टाढामा ।
कुसुम गजमेरका यी पंक्तिमा सजिएको चलचित्र सम्झनाको गीत कालजयी छ । जति सुन्यो, सुनुँसुनुँ लाग्ने । नेपाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीको नाम जस्तै कालजयी, जति सुन्यो सुनुसुनु लाग्ने ।
सबिताले दुई दशकअघि १३ औं एशियाली खेलकुद (सन् १९९८, बैंकक) मा पहिलोपटक देशका लागि रजत पदक जितेर इतिहास रचिन् । कालजयी बन्नुको कारण यही हो । उनको नाम खेलकुद इतिहासमा स्वर्णीम अक्षरले लेखियो । हरेक सच्चा नेपाली खेलप्रेमीको मनमष्तिस्कमा यो नाम बस्न सफल भयो, माथिको गीत जस्तै ।
हालै जाकर्ताबाट सबिताको जस्तै चाँदीको लेपनसहितको पदक पहिरिएर फर्किएका प्याराग्लाइडरहरुको नाम पनि माथि गीत जस्तै कालजयी बन्नेछ । जसरी ६८ बर्षे एशियाड यात्रामा कास्य पदक नै सही, जित्नेको नाम कालजयी बन्यो । इतिहास जित्नेकै लेखिने हो । तसर्थ एशियाडको यात्रामा पदक भेट्नेहरु सबैको नाम स्वर्णीम अक्षरले लेखिसकिएको छ ।
नेपालले १० औं संस्करणदेखि पदक जित्न सुरु गरेको हो । सन् १९८६ को सिओल एशियाडमा पहिलो पटक तेक्वान्दो समावेश गरियो । नेपालले बक्सिङमा चार र तेक्वान्दोमा चार गरी ८ कास्य पदक जित्यो । ११औं एशियाड(१९९०)मा एक कास्य, १२औं (१९९४ हिरोशिमा)मा तीन कास्य, १३औं (१९९८ बैंकक)मा एक रजत र दुई कास्य, १४औं (भियतनाम २००२)मा तीन कास्य, १५औं (दोहा २००६)मा तीन कास्य जितेको नेपाल यसपछि भाग्यमा निर्भर रहनुपरेको छ । किनकी २०१०मा दीपक महर्जनको कास्यमा नेपालले चित्त बुझाउनुपर्यो । सायद यो भाग्यकै देन थियो । अनि सन् २०१४ मा करातेकी बिमला तामाङ इन्चोन जाने वातावरण नबनिदिएको भए पदकका बिषयमा यसै भन्न सकिने थिएन ।
दुई कराते संघ अस्तित्वमा थिए । एउटा राखेपसँग र अर्को ओलम्कि कमिटीसँग साइनो गाँसेका । ओलम्पिक कमिटीबाट संरक्षित संघले पठाएकी खेलाडी थिइन् बिमला । यसअर्थमा नेपाली खेलाडी भाग्यमानी पनि छन् । बिमलाको पदकलाई भाग्यले साथ दिएको भन्न सकिन्छ ।
नेपालका लागि स्वर्ण पदक एकादेशको कथा जस्तै छ । एक समय एकै संस्करणमा आठ वटा सम्म पदक जितेको नेपाल पछिल्ला संस्करणमा एउटै पदकमा चित्त बुझाउँदै फर्कनुपरेको छ । यसपटक पनि सबैमा निराशा छाइरहेका बेला प्याराग्लाइडिङले रजत पदक जितेर फेरि एकपटक आमनेपालीलाई खुशी दियो । यसका लागि टिम कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङ यतिबेला आम नेपालीका बधाईका पात्र बनेका छन् । उनीहरुले टिम क्रसकन्ट्रीमा पदक जितेका हुन् । अब यिनीहरुको नाम खेलकुद इतिहासमा स्वर्णीम अक्षरले लेखिसकिएको छ । त्यसका लागि यसको विरासतलाई निरन्तरता दिनसक्नुपर्नेछ ।
विरासत राजनीतिमा मात्र हैन, खेलकुदमा पनि त्यत्तिकै सान्दर्भिक हुनेगर्छ । बक्सिङ, तेक्वान्दो र कराते उदाहरण हुन् । एशियाडको सात दशक यात्रामा नेपालका लागि पदक जित्ने भनेकै यी तीन खेल हुन् । कुल २४ पदक मध्ये तेक्वान्दोले १४, बक्सिङले ६ र करातेले तीन पदक जितेका छन् । र, अहिले प्याराग्लाइडिङको नाममा एउटा पदक लेखियो । बक्सिङ बाहेक अन्य तीन खेलले पहिलोपटक समावेश गराइदा मात्र पदक जित्ने संयोग जुरेको छ, नेपालका लागि । सन् १९८६ को सिओल एशियाडमा तेक्वान्दो पहिलोपटक समावेश गरिएको थियो, सन् १९९४ मा हिरोशिमा एशियाडमा कराते पहिलोपटक । अनि प्याराग्लाइडिङ यसपटक पहिलो पटक ।
हरेक आयोजक राष्ट्रलाई केही खेल आफु अनुकुल थप्न पाउने प्रावधान बमोजिम नै इन्डोनेसियाले अन्तिममा प्याराग्लाइडिङ थपेको थियो, जसरी कोरियाले सिओल एशियाडमा तेक्वान्दो र जापानले हिरोशिमा एशियाडमा कराते थप गरेका थिए । यसपटक प्याराग्लाडिङ थपेर इन्डोनेसियाले आफ्नो निर्णय सत्य सावित गराइसकेको छ । इन्डोनेसियाले प्याराग्लाइडिङ समावेशमा जोड नगरेको भए नेपाली टोली साढे तीन दशकको एशियाड यात्रामा पहिलो पटक रित्तो हात घर फर्कनु पर्थ्यो, नतिजाले त्यही भन्छ ।
प्याराग्लाइडिङ नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषदको उच्च प्राथमिकताको खेल हैन । यसमा खासै लगानी पनि छैन । लगानी बिनाको प्रतिफल सायद त्यति मिठो पनि हुँदैन । तर मिठो मान्नुपर्ने अब बाध्यता छ । जसले सम्पुर्ण नेपालीलाई खुशी दिएको छ, त्योभन्दा बढ्ता खेलकुद नेतृत्वको इज्जत जोगाइदिएको छ । महंगो आकाशे प्रतियोगिता, सबै देशमा नखेलिने र सर्वसाधारणको पहुँचमा नहुने हुँदा प्याराग्लाइडिङको प्रतिस्पर्धा र आयोजना दुवै चुनौतिपुर्ण मानिन्छ । तर नेपालमा व्यवसायको रुपमा रहेको साहसिक यो खेल विश्वभरि थुप्रै सौखिन खेलाडीको सुचिमा परेकोले नेपालमा पनि यसले स्वभाविक मलजल पाइरहेको देखिन्छ ।
सर्वसाधारणको पहुँचभन्दा टाढाको यो खेलको प्रवद्र्धन गर्ने भावी रणनीति र योजना पक्कै राखेपले तय गर्ने अपेक्षा गर्न सकिन्छ । राखेप मात्र हैन यस खेलमा सरकारले उच्च प्राथमिकता दिन सक्यो भने यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने देखिन्छ । किनकी नेपाल बिश्वमै स्वीटजरल्याण्डपछिको उत्कृष्ट गन्तव्यका रुपमा रहेको छ भने पोखरा पनि संसारमै उच्च कोटिको गन्तव्यका रुपमा सुचिकृत छ ।
पर्यटकलाई लक्षित गरि सुरु गरिएको यस खेलले अब नेपालकै पर्यटन प्रवद्र्धनको आयतन समेत बढाइदिनेछ ।
उता, एशियाडको यति लामो यात्रामा प्याराग्लाइडिङ बाहेक तीन खेलले मात्र पदक जितेको इतिहास साक्षी हुँदाहुँदै २९ खेलमा सहभागिता जनाउने राखेपको निर्णयमाथि पनि शंका गर्ने ठाउँ देखिन्छ । यसले राखेपको अस्पष्ट कार्ययोजना, अदुरदर्शी सोंच भन्नेलाई बल मिलेको छ । सर्वसाधारणले नाम नसुनेका कतिपय खेल एशियाड पुगेका छन्, भर्खरै भित्रिएका खेल जाकर्ता र पालेमबाङ पुगेका छन् । देशभित्रै आफ्नो आयतन बढाउन नसकिरहेको खेललाई एशियाड जस्तो ठुलो जात्रामा पठाउनु राखेप दोषी हो, ओलम्पिक कमिटीको गैरजिम्मेवारपन हो भन्ने धेरै छन् ।
अस्पष्ट योजना र अदुरदर्शी नेतृत्वकै कारण समग्र नेपाली टोली जम्बो बन्न पुगेको तीतो यथार्थ हो । जसको सर्वत्र आलोचना पनि भइरहेको छ । एशियाड जानुअघि कम्तीमा आठ पदक जित्ने दावी गर्ने नेतृत्वले अहिले आएर हाम्रो तयारी पुगेन, अरु धेरै माथि रहेछन् भन्ने गरेको सुनिएको छ । त्यतिमात्र हैन राज्यको लगानी नै छैन, मेडल कसरी आउँछ भन्ने गरेको खबर पनि बाहिर आएको छ । सरकारले त पाँच करोड दिएकै हो नि, हैन र?
सिमित खेलमाथि लगानी गरिएको भए यो रकम कम हैन । सबैभन्दा पहिले हामीले खेलको प्राथमिकीकरण गर्नु पर्थ्यो । सकेनौं, त्यहीं चुक्यौं । सबैका चित्त बुझाउँदै गयौं । कतै माथिका आदेशलाई अक्षरस पालना गर्दै गयौं । कतै आफन्तका मन बुझाउन खोज्यौं । कसैका गुन तिर्न पनि खोज्यौं ।
हामीले सबैभन्दा माथि त देश छ, राष्ट्रिय झण्डा छ भन्ने बिर्सियौं । गल्ती भएको यहींनेर हो । सबै खेलका आआफ्नै मुल्य र मान्यता छन्, सबैको आफ्नै हैसियत छ । तिनलाई देशभित्र मलजल गर्ने वातावरण दिने हो, अवसर दिने हो । राखेप सर्वोच्च निकाय हो । सबैको अभिभावक हो । अभिभावकले वातावरण तयार गरिदिने हो, अवसर दिने हो । शारीरिक रुपमा कमजोर सन्तानलाई सेनामा भर्ना गरिदिनु भनेको युद्धमा मर्न पठाउनु हो, तन्दुरुस्त सन्तान पो सेनाका लागि त ।
तसर्थ राखेप खेलको वर्गीकरण र प्राथमिकीकरण गर्नमा चुकेकै हो । संघलाई बलियो बनाउनतर्फ राखेपले कहिल्यै चासो दिएको छैन । संघहरुको काममा प्रभावकारी नियमन गरिदिने हो भने खेलकुदले एउटा गति लिने निश्चित छ । किनकी हरेक खेलका विश्व महासंघ छ । ती खेलको बिश्व भेलामा एउटा साझा एजेन्डा तय गरिन्छ, हरेक बलिया राष्ट्रले कमजोर राष्ट्रलाई सघाउँदै सँगसँगै अगाडि लैजाने । बिश्व खेलकुदको निर्दिष्ट लक्ष्य र उद्देश्य पनि सँगसँगै अघि जानु नै हो ।
विश्व खेलकुदको यो साझा एजेन्डा नेपालका लागि जहिल्यै सुवर्ण अवसर छ । किनकी हाम्रो दुई छिमेकी चीन र भारत एशियाली खेलकुदमा ठुलो हैसियत राख्छन् । चीनले एक दशकदेखि शीर्ष स्थानमा रहँदै पदकको चाङ देख्दा नेपालले लाभ उठाउन सक्ने प्रर्याप्त आधार छन् । साथै भारत पनि दक्षिण एशियाको जहिल्यै शीर्ष टोली हो । तर नेपालले उच्च स्तरीय सम्वाद कहिल्यै गर्न सकेन । यसर्थ नेपालको खेल कुटनीति निकै कमजोर छ भन्न सकिने आधार यिनै हुन् । कमजोर खेल कुटनीतिका कारण नेपाली खेलकुदले अपेक्षित लाभ उठाउन नसकेको तीतो यथार्थ हो ।
राखेपले हरेक संघलाई देशभित्र गरेको लगानी, उसको गतिविधि र आकर्षणलाई मध्यनजर गरेर मात्र अन्तर्राष्ट्रिय मञ्चमा पठाउने नीति तयार गर्नैपर्छ । त्यसैगरी दक्षिण एशियाली खेलकुदको प्रदर्शन र प्रतिफलबाट मात्र एशियाड पठाउने नीति तर्जुमा गर्नैपर्छ । एशियाडको प्रदर्शनले ओलम्पिकको ढोका खोल्ने हुनुपर्छ । यस्तो खाले नीति तर्जुमा गर्दै कार्यान्वयन तहमा प्रभावकारी लागु गर्न सकियो र खेल कुटनीतिलाई प्रभावशाली बनाउन सकियो भने मात्र नेपालको खेलकुद उकालो चढ्न सक्छ ।
अर्कोतर्फ जिम्मेवारीबोध, नैतिकता र जवाफदेहिताको खडेरी छ हाम्रो खेलकुदमा । पुरस्कार र दण्ड भन्ने प्रावधान नै छैन । यतिबेला सबैले गम्भीर आत्मसमिक्षा गर्नुपर्नेबेला आएको छ । मातहतका निकाय र जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने र आफुले नैतिकता प्रदर्शन गर्ने बेला आएको छ ।
यसको अन्तिम जिम्मेवारी नेपाली खेलकुदको संरक्षक सम्मानीय प्रधानमन्त्रीको हो । उहाँले पनि मातहतका सबैलाई जवाफदेही बनाउन सक्नुभयो भने आगामी दिनमा सबैले सबक सिक्दै जाने कुरा हो ।
अन्यथा कुसुम गजमेरको गीतको एउटा लाइन, अल्झाइराख, नलैजाउ टाढा भनेझैं भइरहने छ ।