धरान । धरान १० के रन तथा आठौं नेवा च्यारिटीको उपाधि भारतीय सेनाका तिर्थ पुन र प्रदेश-३ की सन्तोषी श्रेष्ठले जितेका छन् ।
धरानमा शनिबार आयोजित दौडमा तिर्थले खुल्ला पुरुष र सन्तोषीले महिलातर्फको उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा तिर्थले १० किलोमिटरको दुरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरे । बाग्लुङ घर भएका तिर्थले पाँचौं पटक उपाधि जितेका हुन् ।
पुरुषतर्फ निर्धारित दुरी ३१ मिनेट ३३ सेकेण्डमा पुरा गरेका एपीएफका लक्ष्मण मल्ल दोस्रो र खिम बहादुर खत्री ३१ मिनेट ३५ सेकेण्डसहित तेस्रो भए ।
महिलातर्फको उपाधि जित्ने क्रममा सन्तोषीले निर्धारित दुरी ३४ मिनेट २३ सेकण्डमा पुरा गरे । धादिङकी सन्तोषीले दोस्रो पटक उपाधि जितेकी हुन् ।
महिलातर्फ राममाया बुढा ४० मिनेट ३४ सेकेण्डको समयसहित दोस्रो र छेम्बीमायाँ राई ४२ मिनेट ०२ सेकेण्डको समयसहित तेस्रो भईन् ।
उपाधिसँगै तीर्थ र सन्तोषीले जनही ५० हजारसहित ट्रफी प्राप्त गरे । दुवैतर्फको दोस्रोले ३० हजार र तेस्रोके २० हजार प्राप्त गरे ।
१६ वर्षमुनि पुरुषतर्फ किरण लिम्बु,रसियन राई र रोजन राई क्रमश: पहिलो देखि तेस्रो भए । महिलातर्फ बन्दना, क्रिष्टिना राई र प्रशंसा बन शीर्ष तीनमा रहे ।
१२ वर्षमुनि पुरुषतर्फ अनिष लिम्बु, सुजन राई र दिवश राईले शीर्ष तीन स्थान हासिल गर्दा महिलातर्फ प्रश्ना भण्डारी, किसिका तामाङ र कुशुम राई क्रमशः शीर्ष तीनमा रहे ।
भेट्रान पुरुषतर्फ दिल बहादुर श्रेष्ठ पहिलो, धर्म महर्जन दोस्रो र सुबर्ण सुब्बा तेस्रो भए । भेट्रान महिलातर्फको उपाधि छिरिङ लम्हुले जित्दा भिम माया राई दोस्रो र गीता देवी लिम्बु तेस्रो बनिन् ।
तीन विधातर्फको विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गरे ।
तस्बिर - धरान रन