पोखरा । पोखरामा प्याराग्लाइडिङको विश्वकप तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा फागुन ११ देखि १७ सम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम, इन्डोनेसिया र काजकिस्तान लगायत ३० राष्ट्रका १ सय २५ पाइलटले सहभागिता जनाउने प्रतियोगिता संयोजक योगेश भटराईले जानकारी दिए ।
पाइलटले सराङकोटबाट उडान भरेर लेकसाईडस्थित खपौंदीमा अवतरण गर्नेछन् ।
ओभरअल च्याम्पियनमा पहिलो देखि दशौं स्थानसम्मकालाई पुरस्कृत गरिने छ । त्यस्तै महिला च्याम्पियनसिपमा पहिलो देखि पाँचौं स्थानसम्म रहनेलाई पुराक्रित गरिनेछ ।
त्यस्तै टिम च्याम्पियनमा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपालीतर्फ भने महिला र पुरुषको शीर्ष पाँचमा रहनेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।