एजेन्सी। सर्बियन टेनिस स्टार नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा दोस्रो वरियताका जोकोभिकले पाँचौं वरियताका थिमलाई ६-४, ४-६,२-६,६-३ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिकले आठौं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको १७ औं ग्राण्डस्लाम उपाधि हो ।
यस अघि सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक फाइनल पुगेका थिए । यस्तै थिमले एलेक्जेन्डर जेभरेभको चुनौती पन्छाएका थिए ।
महिलातर्फको उपाधि सोफिया केनिनले जितिसकेकी छिन्।