काठमाडौं । छिरिङ शेर्पा र बिमला तामाङले तेस्रो अन्तर कलेज स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता अन्तर्गत टप रोपको उपाधि जितेका छन् ।
शनिबार भएको पुरुषतर्फ छिरिङले ४७ सेकेण्डमा १४ होल्ड पुरा गर्दै उपाधि जिते । सोहि स्पर्धामा रोनक उप्रेतीले ३२ सेकेण्डमा १३ होल्ड पुरा गर्दै उपविजेता बने । १ मिनेट २३ सेकेण्डमा १३ होल्ड पुरा गरेका सुरेश तामाङ तेस्रो भए ।
नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको टपरोप विधाकै महिलातर्फ बिमलाले १ मिनेट २३ सेकेण्डमा १२÷१४ होल्ड पुरा गरेर उपाधि जितिन् ।
काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टर ठमेलमा भएको प्रतियोगिताको महिलातर्फ देविका पाण्डेले १ मिनेट ४०.४६ सेकेण्डमा १२÷१४ होल्ड पुरा गर्दै दोस्रो भईन् । यस्तै १ मिनेट ३५.५६ सेकेण्डमा १२ होल्ड पुरा गरेकी किल्हामु शेर्पा तेस्रो भईन् ।
दुबै तर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा उपत्यका ११ कलेजका १४ छात्रा र ७ छात्रले प्रतिस्पर्धा गरेका थिए ।