काठमाडौं । जापानको निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल सामाग्री सहयोग गरेको छ ।
जापान सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत संघलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
जापानी राजदुतावासमा बुधबार आयोजित एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याड्मिन्टन सामाग्री उपलब्ध गराएका थिए ।
निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको हो ।
जापानको स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक र पाराओलम्पिकको प्रवर्धन परियोजना हो । यस अन्तर्गत जापान सरकारले सन् २०२० को टोकियो ओलम्पिक सुरु हुँदासम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ ।
सो अवसरमा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
यसैगरी नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए ।