काठमाडौं । विभागीय टिम एपीएफ क्लबले तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
उपाधि जित्ने क्रममा एपीएफले न्यु डायमण्डको चुनौती २५-२०, २५-२३ र २५-१८ ले पाखा लगायो । यससँगै एपीएफले लगातार दोस्रो वर्ष न्यु डायमण्डलाई हराएर उपाधि जितेको छ ।
गत संस्करणमा पनि एपीएफले आयोजकलाई हराएर च्याम्पियन बनेको थियो ।
उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।
आर्मीविरुद्ध पुलिसले २५-२२, २५-९ र २५-१२ को सेटमा जित निकाल्यो ।
तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो ।
न्यु डाइमण्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।