काठमाडौं । तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज (आइतबार) हुँदैछ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टिम एपीएफ क्लब भिड्ने छन् ।
फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
फाइनलका लागि दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्ने छन् । एपीएफ पुन: च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । गत संस्करणको उपाधि एपीएफले नै जितेको थियो ।
यता, न्यु डायमण्ड गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिदै उपाधि जित्ने योजनामा हुनेछ ।
यस अघि सेमिफाइनलमा न्यु डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराएको थियो । एपीएफले पुलिसलाई ३-० कै सोझो सेटमा हराएको थियो ।
यस्तै तेस्रो स्थानको लागि पुलिस र आर्मीबीच ११ बजे खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।