काठमाडौं । साविक विजेता एपीएफ क्लब समूह विजेता बन्दै तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार दोहोरो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको हो ।
पहिलो खेलमा पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको एपीएफले दोस्रो खेलमाआर्मीलाई सोझो सेटमा हरायो।
पारामाउन्टलाई २५–१८, २५–५ र २५–९ ले हराएको एपीएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ ले पाखा लगायो ।
समूह ‘ए’ बाट आर्मी समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो ।
समूह 'बी' बाट न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा पुगेका थिए ।
अब शनिबार हुने सेमिफाइनलमा एपीएफ र पुलिस तथा न्यु डायमण्ड र आर्मीबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।