काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिजको दुई विधामा फाइनल प्रवेश गरेका छन् ।
प्रिन्स पुरुष एकल र जोडी दुबैतर्फ उपाधि नजिक पुगेका हुन् ।
प्रतियोगितामा दोश्रो वरियता प्राप्त तथा विश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका प्रिन्सले सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाले ।
अब प्रिन्सले उपाधिका लागि भारतका मिरबा लुवाङ्गसंग प्रतिस्पर्धा गर्ने छन् । लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अबविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।
प्रिन्सले पुरुष युगलमा पेम्बा शेर्पासंग मिलेर नेपालकै अमृत चौधरी र जे.बी. साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे ।
अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै प्रिन्स र पेम्बाको जोडीसंगको भेट पक्का गरेका छन् ।
महिला जोडीतर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे । बिष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् । भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाइनलमा मलेसियाकी करुपथेभन लेत्शाना संगको भेट पक्का गरिन् । लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन् ।
मिश्रीत जोडीतर्फ पनि मिर आयन रशिद संग मिलेर फाइनल प्रवेश गर्न सफल भईन् । उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडीसंगको भेट पक्का गरेका हुन् ।