काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा ललितपुरले चौतारालाई २३-२५, २५-२०, २५-२१ र २५-१२ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै ललितपुरले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको चौताराले १ लाखमा चित्त बुझायो ।
तेस्रो भएको महालक्ष्मीले ५० हजार प्राप्त गर्यो ।
ललितपुर महानगरपालिकाले आफ्नो १ सय १ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ललितपुरका हरि पाण्डे चुनिए । उनले १० हजार प्राप्त गरे ।
यस्तै उत्कृष्ट स्पाइकर ललितपुरका योगेन्द्र गुरुङ, ब्लकर महालक्ष्मीका शरद रावल, डिफेन्डर महालक्ष्मीका हरिस बुढाथोकी, सरभर महालक्ष्मीकै आयुस खड्का चुनिए ।
सेटर चौताराका विश्वास आले र प्रशिक्षक ललितपुरका मनोज खड्का चुनिए ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गरे ।
महिलातर्फको उपाधि चन्द्रागिरी नगरपालिकाले जितेको छ ।
फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको थियो ।