पोखरा । इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।
प्याराग्लाईडिङमा नेपालका ५ जना पुरुष र ३ जना महिला गरि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन । नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडीहरु कास्की हुन । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन ।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन् । प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० गते सम्म आयोजना हुँदैछ ।
नेपाली खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, शुसिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन । नेपाली टिमको प्रशिक्षक योगश भट्टराई रहेका छन । नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक साता पछि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ ।
नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इन्डोनेसिया जान लागेको हो । नेपाली टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगाएतले विदाई गरेका थिए ।