काठमाडौं । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यू–१४ तर्फको उपाधि हात पारेका छन् ।
आईतबार भएको पुरुषतर्फको फाईनलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि जितिन् ।
उपाधिसँगै आर्यन र इशाले २५ हजारसहित मेडल प्राप्त गरे । अकी र सुभाङ्गीले १२ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईकेल र महिला तर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।
सातदोबाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यू–१२ तर्फको प्रतिस्पर्धामा आयुश्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहिति मेडल तथा प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यू–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिला तर्फ शिभाली गुरुङ्गले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यू–८ पुरुष तर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङ्गले आयुशा जि.सी.लाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद ५ हजार र संजोग र आयुशाले नगद २५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।