काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
संघले टेनिसमा पदक विजेता १२ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । विभिन्न स्पर्धामा नेपालका १२ खेलाडीले सागमा कास्य पदक जितेका थिए ।
सिंगल्सको कांस्यलाई २५ हजार, डबल्सलाई १५ हजार र टिमलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेलाडी र प्रशिक्षकलाई गरी कुल २ लाख ३५ हजार नगद प्रदान गरिएको थियो ।
प्रेरणा कोइरालाले ३ कांस्यका लागि सर्वाधिक ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । प्रेरणाले सिंगल्स, डबल्स र टिम इभेन्टमा कांस्य जिते वापत क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाइन् ।
सलोनी तामाङ, अभिलाषा विष्ट र आइरा रावतले डबल्स र टिम इभेन्टमा क्रमशः १५ हजार र १० हजार गरी जनही २५ हजार नगद पुरस्कार थापे । रायना शाह र प्रकृति श्रेष्ठले टिम इभेन्टका लागि समान १०–१० हजार नगद पुरस्कार हात पारे ।
पुरुष टिम इभेन्टमा कांस्य जितेका संरक्षकभूषण वज्राचार्य, प्रणव खनाल, प्रदीप खड्का, सन्तोष खत्री, सम्यकभूषण वज्राचार्य र नवीन पाइजालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । प्रशिक्षकत्रय रेणुदेवी कोण्डा श्रेष्ठ, सूर्यभूषण वज्राचार्य र श्रृष्टि श्रेष्ठ समान १०–१० हजार नगदबाट पुरस्कृत भए ।
त्यस्तै व्यवस्थापक निरेशबहादुर श्रेष्ठ र प्रतिक्षा गिरी तथा टेक्निकल डाइरेक्टर केशवराज पाण्डे, कम्पिटिसन डाइरेक्टर अजय विष्ट, भेन्यु म्यानेजमेन्ट को–ओर्डिनेटर सञ्जय अमात्य, नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटा, खेलाडीका अभिभावकद्वय देवेन्द्र रावत र गौरीशंकर श्रेष्ठलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।