काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोहमा पदकधारी खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने भएको छ ।
प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न सकेको थिएन ।
युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो ।
तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पुर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन ।
तर राखेपले समापन समारोहमा सागमा नेपालको तर्फबाट पदक विजेता खेलाडीलाई विशेष प्याकेज घोषणा हुने बताएको हो ।
‘कार्यक्रमका प्रमुख अतिथीबाट खेलाडीलाई विशेष प्याकेज घोषणा हुनेछ ।’ समापनको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव रमेश सिलवालले खेलपाटीसंग भने ।
राखेपले प्रधानमन्त्री केपी ओलीलाई सागको समापन समारोहको प्रमुख अतिथीको रुपमा ल्याउने कसरत गरिरहेको छ ।
तर प्रधानमन्त्री आउने सम्भावना कम भएपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिथीको रुपमा समापन समारोहमा ल्याउने मन्त्रालय र राखेपको तयारी छ ।
यसअघि सरकारले सागका स्वर्ण पदक विजेतालाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाख सहित सम्मान गर्दै आएको छ ।
तर राखेपले सागको पुरस्कार राशीमा भारी वृद्वि गर्ने तयारी गरेको छ । जसको औपचारिक घोषणा भोली समापन समारोहमा हुनेछ ।
टिकट मुल्य दोब्बर
राखेपले सागको फुटबल फाईनल खेल तथा समापन समारोहको टिकट मूल्य दोब्बरले वृद्धि गरेको छ । उसले साधारण प्यारापिटतर्फ १ हजार र भिआईपीतर्फ २ हजार टिकट मूल्य निर्धारण गरेको छ ।
राखेपले सम्पुर्ण टिकट बिक्रीको जिम्मेवारी ई–सेवालाई दिएको छ । तर टिकट बिक्री खुलेको दुई घण्टामा सम्पुर्ण टिकट बिक्री भईसकेको छ ।
राखेपले समापन समारोहलाई व्यवस्थित बनाउन भन्दै साधारणतर्फ ८ हजार र भिआईपीतर्फ १ हजारमात्र टिकट बेच्ने जनाएको छ । साधारणतर्फको क्षमता १२ हजार र भिआईपीतर्फ २ हजार दर्शक क्षमता रहेको छ ।
समापन समारोह करिब डेढ घण्टाको हुनेछ । समापन समारोहलाई साग ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र विशेष अतिथीले सम्बोधन गर्नेछन् ।
लगत्तै १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिनेछ । केही सांस्कृतिक कार्यक्रम समापन समारोहमा राखिएको छ ।