काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत टेनिसका सात मध्ये पाँच स्वर्ण भारतले जितेको छ ।
आइतबारसम्म सकिएका पाँच इभेन्टका सबै स्वर्ण भारतले जितेको हो । बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ ।
आइतबार पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सको स्वर्ण भारतले जित्यो ।
पुरुष डबल्स तर्फको फाइनलमा दोस्रो वरियताका भारतीय जोडी विष्णुवद्र्धन जगदिसन र साकेथ साई मिनेनीले शीर्ष वरियताका श्रीराम बालाजी र जिवन नेदुन्चेझियानको जोडीलाई ७–५, ३–६ (१०–५) ले हराए ।
महिला डबल्सतर्फको फाइनलमा प्रेरणा भाम्ब्री र प्रार्थना थोम्बारेको जोडीले श्रब्याशिभानी चिलाकलापुडीको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते ।
मिक्स डबल्सतर्फ सौजन्याभावि सेट्टी र श्रीराम बालाजी नारायणस्वामीको जोडीले प्रार्थना थोम्बारे र जिवन नेदुन्चेझियानको जोडीलाई ६–३, ६–७(४) (१०–७) ले हराए ।
टेनिसको महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु सोमबार हुनेछन् ।
टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिष्पर्धा गर्दैछन् ।